ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएपछि उनी चुनावी सरकारमा बस्न मिल्ने कि नमिल्ने विवाद उठिरहेका बेला सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारे सरकारलाई औपचारिक जानकारी नै नभएको बताएका छन्।
सरकारका प्रवक्तासमेत रहेका खरेलले ऊर्जामन्त्री घिसिङ रास्वपाको उपसभापति भएको विषयमा सरकारलाई औपचारिक जानकारी आएपछि त्यसबारे निर्णय लिइने बताए।
उनले शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।
‘उहाँ (कुलमान) को पार्टी प्रवेशबारे सरकारलाई औपचारिक जानकारी छैन, औपचारिक जानकारी आएपछि हामी मन्त्रिपरिषद बैठक बसेरै यसबारे निर्णय लिनेछ,’ उनले सञ्चारकर्मीहरूसँग भने।
पार्टी प्रवेशका विषयमा सरकारले निर्णय लिए पनि चुनावमा उठ्ने अधिकार भने सबैलाई भएको उनले बताए।
अन्तरिम सरकारमा रहेका मन्त्रीलाई पनि चुनावमा उठ्ने अधिकार रहेको उल्लेख गर्दै उनले भने, ‘म आफू भने अहिलेसम्म कुनै पार्टीमा प्रवेश गरेको छैन। चुनाव लड्छु कि लड्दिनँ भन्ने पनि निर्णय गरेको छैन।’
यो चुनाव गराउनका लागि मात्र बनाइएको राजनीतिक दलबिनाको सरकार भएकाले उनी दलमा प्रवेश गरेपछि पदबाट राजीनामा दिनुपर्ने कतिपयको तर्क छ।
दलमा प्रवेश गरिसकेपछि उनलाई हटाउने कि नहटाउने भन्ने प्रश्न प्रधानमन्त्री कार्कीमाथि पनि उठेको छ।
प्रधानमन्त्रीनिकट स्रोतअनुसार कुलमानले भने उज्यालो नेपालको घोषणा सभामा जानुअघि नै प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाउन लागेका थिए। तर प्रधानमन्त्री कार्कीले बाँकी रहेका कतिपय काम सकेर मात्र कतै जान दिन्छु भनेकी थिइन्।
कुलमान उज्यालो नेपालको कुनै पदमा बसेका थिएनन्, संरक्षक मात्र थिए। रास्वपामा भने उनी उपसभापति हुने गरी सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।
स्रोतका अनुसार कुलमान सरकारबाट बाहिरिन्छन् भन्ने सोचेरै उनको सट्टा अर्को मन्त्री ल्याउन प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालय आफैसँग राखेकी थिइन्। हालै पूर्व रथि बालानन्द शर्मा परराष्ट्र मन्त्री नियुक्त भइसकेका छन्।