नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ।
सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुनका लागि आग्रह गरिएको छ। बैठकमा महाधिवेशन विवादको बारेमा छलफल हुने नेताहरूले बताएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार साँझ संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए । उनीहरूले अबको विकल्प विशेष महाधिवेशन भएको बताएका छन् । महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशन सम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका हुन् ।
कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए । सोही हस्ताक्षर अनुरूप विशेष महाधिवेशन बोलाउने र नबोलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको संस्थापनको तर्क छ । तर विशेष महाधिवेशन पक्षधर भने ३ महिनाभित्र वास्ता नगरेकाले आफूहरूले नै विशेष महाधिवेशन बोलाउन बाध्य भएको बताउँदै आएका छन् ।