एसिसी यू–१९ एसिया कप : लगातार दोस्रो हारपछि बाहिरियो नेपाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लगातार दोस्रो हारसँगै नेपाल एसिसी यू–१९ एसिया कपबाट बाहिरिएको छ । सोमबार युएईमा भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल अर्काे टेस्ट राष्ट्र बंगलादेशसँग ७ विकेटले पराजित भयो । बंगलादेशविरुद्ध नेपाली खेलाडीले बलिङ, ब्याटिङ र फिल्डिङतर्फ नै कमजोर देखिए । बंगलादेशका खेलाडी नेपालविरुद्ध पूर्ण रूपमा हाबी भए । टस हारेर ब्याटिङ गरेको नेपाल ३१.१ ओभरै अलआउट भयो । नेपालले बंगलादेशलाई १ सय ३१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्यो ।

अब, नेपालले बुधबार अफगानिस्तानसँग अन्तिम खेल हुनेछ । अफगानिस्तान पनि लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा बंगलादेशसँग ३ विकेट र दोस्रो खेलमा श्रीलंकासँग २ विकेटले नै पराजित भयो । योसँगै समूहबाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ मा सर्वाधिक सफल टोली भारतले २ खेल नै जितेको छ । घरेलु टोली युएई र पाकिस्तानले समान १ खेल जित्दा मलेसिया जितविहीन छ । दुवै समूहका शीर्ष दुई टोली सीधै सेमिफाइनलमा प्रवेश गर्नेछन् । एसियाली क्रिकेट काउन्सिल (एसिसी)का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत: विश्वकपमा स्थान बनाएका छन् । नेपालसँगै युएई र मलेसिया प्रिमियर कपको शीर्ष तीन टोलीका रूपमा छनोट हुँदै एसिया कप खेलिरहेका छन् ।

अबरारले बनाए एक्लै ७० रन
बंगलादेशको जितमा ओपनर जावद अबरार अविजित सर्वाधिक ७० रन बनाए । उनले ६८ बलमा ७ चौका र ३ छक्का हिकाएका थिए । रिजन होसन १२ रनमा अविजित रहे । ३४ रन बनाएका कलम सिद्दिकीलाई युवराज खत्रीले अभिषेक तिवारीबाट क्याच गराएका थिए । ५ रन बनाएका रिफात बेगलाई अभिषेकले निश्चल क्षेत्रीबाट क्याचआउट गराउन सफल भए । कप्तान अजिजुल हाकिम १ रनमा रनआउट भए । बंगलादेशले अतिरिक्त १३ रन जोडेको थियो ।

चलेन नेपालको ब्याटिङ
बंगलादेशविरुद्ध नेपालको ब्याटिङ नै चलेन । चार खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । अभिषेक तिवारीले ४३ बलमा २ छक्कासहित सर्वाधिक ३० रन बनाएका थिए ।‌ आशिष लोहारले २३ रन जोड्दा ओपनर साहिल पटेलले १८ र नीरज यादवले १४ रनको योगदान गरेका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका लागि मोहम्मद सोबुजले सर्वाधिक ३ विकेट लिए । उनले ७ ओभरमा १ विकेटसहित २७ रन खर्चिए । नेपालले पहिलो पावरप्लेमा ५८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, दोस्रो पावरप्लेसम्म कुल ७२ रन जोड्दा ८ विकेट नै गुमाउन पुग्यो ।