नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशनस्थल भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ ।
महाधिवेशनमा १९ पदाधिकारीका लागि ४२ जनाले उमेदवारी दिएका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उमेदवारी परेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे प्रतिस्पर्धामा छन् ।
त्यसैगरी तीन उपमहासचिव पदका लागि सात जनाले उमेदवारी दिएका छन् । नौ सचिव पदका लागि २० जनाको उमेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।