नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव, युवा नेता सुशील बस्नेतले पार्टी कार्यकर्ताहरूलाई निराशा त्यागेर एकजुट हुन आह्वान गरेका छन्। उनले पार्टीमाथि भइरहेका चौतर्फी प्रहारको सामना गर्दै राष्ट्रियताको रक्षाका लागि अगाडि बढ्न आग्रह गरे।
बस्नेतले भने, “यतिबेला निराशा र कुण्ठा छर्ने होइन। पार्टीले के दियो दिएन, त्यो गुनासो गरेर पीडाका कथाहरू सुनाउने बेला होइन। अन्याय र अत्याचारका बेला हामी क्रान्तिकारी योद्धा झिना मसिना कुरामा अल्झिने होइन।”
उनले प्रतिक्रियावादीहरूले पार्टीलाई गलत साबित गर्न खोजिरहेको भन्दै त्यसको विरुद्ध आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए। “आपसी मतभेदलाई शून्यतामा पुर्याउँदै उत्साह र हिम्मतले हामीलाई लगाइएका तमाम गलत कुराको भण्डाफोर गर्ने हो,” उनले थपे, “आफूभित्र आत्मसमीक्षा गर्दै वैरीहरूका विरुद्ध एकढिक्का भएर जुध्ने हो।”
बस्नेतले अहिले बुद्धका उपदेश पढेर बस्ने बेला नभएको भन्दै राष्ट्र र राष्ट्रियता जोगाउन जंगबहादुरको गर्जन लिएर अघि बढ्नुपर्ने बताए। उनले लिपुलेक, कालापानीको अडान लिएको र देशलाई विकासको फड्को मार्दै स्वाभिमानी र आत्मनिर्भर बनाउन लागेकै कारण विदेशी शक्तिका सामु घुँडा नटेकेकै कारण एमालेलाई समाप्त पार्न खोजिएको आरोप लगाए।
“हाम्रो पार्टी कुनै सेलिब्रेटी वा चटकेहरू जम्मा गरेर निर्माण गरेको पार्टी होइन, यो त लाखौँलाख जनताको त्याग, तपस्या र बलिदानले निर्माण भएको पार्टी हो,” उनले भने, “कहिलेकाहीँ नेताहरूबाट गलत भए पनि त्यसलाई सच्याउँदै लाखौँ इमानदार कार्यकर्ताले जोगाएको पार्टी हो।”
बस्नेतले पार्टीको नाममा आजसम्म एक रुपैयाँ पनि सुविधा नलिएका, कुनै पद प्रतिष्ठा नखोजी आफ्नो गास काटेर पनि पार्टी बलियो बनाउने तमाम योद्धाहरूले यो पार्टी बनाएको स्मरण गराए।
उनले कार्यकर्ताहरूलाई कमजोर मुटु नबनाई विश्वास र हिम्मतका साथ सुनौलो नेपाल निर्माण गर्ने सुन्दर सपना बोकेर तमाम बेथिति र अराजकताको विरुद्ध जुध्दै अघि बढ्न आह्वान गरे। “देशलाई विदेशीको चंगुलबाट मुक्त गराउने जिम्मेवारी हाम्रो हो, त्यसैले लागौँ, जागौँ, अघि बढौँ,” उनले भने।