पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताले आगो लगाएको खुलेको छ ।
जेनजी आन्दोलनका क्रममा न्युरोडस्थित पोखरा महानगरको कार्यालय जलाएपछि एक समूह मेयरको घरमा तोडफोड गर्न पुगेको थियो । सोही रात मेयरको घरमा आगजनी भएको हो ।
सामाजिक सञ्जालमा देखिएको भिडियोमा मेयर आचार्यको घरमा आगो लगाउने कार्यमा रास्वपाका पोखरा वडा १० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको देखिएको छ ।
त्यसपछि रास्वपा गण्डकीले उनलाई निलम्बन गरेको छ ।
‘भदौ २३ र २४ गते जेनजीले आयोजना गरेको विरोध कार्यक्रममा पार्टीको आचारसंहिता भन्दा बाहिर रहेर विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको विभिन्न सामाजिक सञ्जालमार्फत देखिन आएकाले तपाईंलाई अर्को निर्णय नहुन्जेलसम्मका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गरिन्छ,’ रास्वपाद्वारा जारी पत्रमा उल्लेख छ ।