नेतृत्व परिवर्तन र Gen Z आन्दोलन : नेकपा (एकीकृत समाजवादी) का लागि चुनौती र अवशर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
हालै नेपालमा देखिएको “Gen Z आन्दोलन” केवल सरकार वा दल विशेषविरुद्धको असन्तुष्टि मात्र होइन, यो प्रणालीगत रूपमा जरा गाडेको भ्रष्टाचार, अकर्मण्यता र जवाफदेहिताको कमीविरुद्धको आवाज हो। लामो समयदेखि एउटै अनुहारहरू पालैपालो प्रधानमन्त्री, मन्त्री वा मुख्यमन्त्री बनेर “म्युजिकल चेयर” जस्तै सत्ता सञ्चालन गर्दै आएको व्यवस्थाप्रति युवा पुस्ताले घोर असन्तुष्टि व्यक्त शगरेको छ।
युवाहरूले चाहेको परिवर्तन केवल नारामात्र होइन, पारदर्शिता, उत्तरदायित्व, मेरिटोक्रेसी र नयाँ सोचसहितको नेतृत्व हो। तर यसलाई केवल २०–३० वर्ष उमेर समूहको आन्दोलनको रूपमा मात्रै सीमित गरेर हेर्नु ठीक हुँदैन। वास्तवमा, “Gen Z” केवल उमेर होइन, नवीन सोच, भविष्यमूलक दृष्टिकोण र समयसँग मेल खाने चेतना हो। कोही युवा भए पनि पुरानो सोचमा अड्किएका हुन सक्छन्, र कोही अनुभवि नेताहरू पनि नयाँ सोच बोकेका हुन सक्छन्।
विश्वव्यापी रूपमा पनि अहिलेको पुस्ताले पुरानो राजनीतिक शैलीलाई चुनौती दिइरहेको छ। जलवायु संकट, रोजगारी, शिक्षा र प्रविधिको छिटो विकासले युवाहरूलाई नयाँ किसिमको राजनीतिक संलग्नता र उत्तरदायित्व खोज्न प्रेरित गरेको छ।
नेकपा (एकीकृत समाजवादी) का लागि यो आन्दोलन आलोचना मात्र होइन, अवसर पनि हो। यदि पार्टीले यसलाई असन्तुष्टि भनेर बेवास्ता गर्यो भने युवापुस्तासँग दूरी अझै बढ्नेछ। तर यसलाई आत्मसमीक्षा गर्ने मौका र आन्तरिक सुधारको थालनीका रूपमा उपयोग गर्ने हो भने, पार्टीले नयाँ पुस्ताको समर्थन आकर्षित गर्न सक्छ।
त्यसैले, अब पार्टीभित्र पनि नेतृत्व परिवर्तनसहितको क्रान्तिकारी सुरुवात आवश्यक देखिन्छ। केवल अनुहारको हेरफेर होइन, नयाँ सोच, नयाँ विचार, नीति र अभ्याससहितको रूपान्तरण जरुरी छ। यसरी मात्रै एकीकृत समाजवादीले समयको माग अनुसार आफ्नो स्थान सुनिश्चित गर्न सक्नेछ।
प्रेम थापा
अध्यक्ष
नेकपा।एकिकृत समाजबादी , पोखरा महानगर कमिटि