कालिमाटी शान्ति स्तुपा टोल विकास संस्थाले भदौ २२ गतेदेखि सुरु गरेको योग कार्यक्रम हाल आठौँ दिनसम्म निरन्तर सञ्चालन भइसकेको छ। सुरुमा ३ दिने योग शिविरका रूपमा प्रारम्भ गरिएको यो कार्यक्रम सहभागीहरूको मागअनुसार “नियमित योग साधना केन्द्र”का रूपमा विस्तार गरिएको हो।
१० दिने तालिमप्राप्त प्रशिक्षक मीना पौडेल देवकोटाको मार्गदर्शनमा प्रत्येक दिन बिहान ५:३० बजेदेखि ७:०० बजेसम्म सृजनशील क्लबको भवनमा योग कक्षा सञ्चालन भइरहेको छ। साथै, बेलाबेलामा दक्ष प्रशिक्षकलाई आमन्त्रण गरी रोग–निवारणसम्बन्धी विशेष योग अभ्याससमेत गराउने गरिएको छ। यस योग कार्यक्रममा युवा देखि ७९ वर्षसम्मका ज्येष्ठ आमा तथा नागरिकहरूको समेत सक्रिय सहभागिता रहेको छ। हाल दैनिक रूपमा करिब २० जनाले नियमित अभ्यास गर्दै आएका छन्।
सहभागीहरूले योग अभ्यासपछि शरीर हलुका भएको, पुराना दुखाइ कम भएको र मानसिक ताजगी अनुभव भएको प्रतिक्रिया दिएका छन्। योग साधना अन्तर्गत विभिन्न आसन, ध्यान, प्राणायाम, जीवनशैलीसम्बन्धी मार्गदर्शन तथा टोलबासीको क्षमता विकासका लागि विविध क्रियाकलाप समावेश गरिएका छन्।
आठौँ दिनमा केन्द्रको नामाकरण गर्दै अनौपचारिक उद्घाटन कार्यक्रममा वडा युवा परिषद्का अध्यक्ष एवं टोल विकास संस्थाका अध्यक्ष दिनेश बरालले भन्नुभयो— “टोलबासीको स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो, त्यसैले यस कार्यक्रमलाई निरन्तरता दिँदै नियमित योग साधना केन्द्रको रूपमा सञ्चालन गरिनेछ।” उहाँले थप स्पष्ट पार्दै भन्नुभयो— “योगको अर्थ गहिरो छ।
बुझ्न सक्नेले चाँडै अनुभूति गर्छन् कि यसले आफ्नै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। गाउँघरका सामान्य कामकाज वा घाँस–बारीमा काम गर्नु मात्र व्यायाम होइन। यहाँको योगमार्फत कान, आँखा, खुट्टा, हात, घाँटी लगायत शरीरका हरेक अंगको व्यायाम हुन्छ। ध्यान साधनाले मनलाई शान्ति र आनन्द दिन्छ, जसले दिनभर ऊर्जा र सन्तुलन प्रदान गर्दछ।”
बरालले दशैँपछि औपचारिक उद्घाटन गर्ने जानकारी पनि दिनुभयो। कार्यक्रमको व्यवस्थापनमा उपाध्यक्ष मीनबहादुर बिकसहित सम्पूर्ण पदाधिकारीहरूको निरन्तर सहयोग रहेको छ भने संस्थाकी सचिव योशदा बराले बताउनु भयो ।