देशभरिका विद्यालयहरू स्थानीय पालिकासँगको समन्वयमा सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले नजिकिँदै गएको चाडपर्व र पालिकाको अवस्था हेरेर अनुकुल वातावरणमा विद्यालय सञ्चालन गर्न पालिकालाई नै स्कुल सुचारुको जिम्मा दिइएको बताए।
‘दसैं, तिहार र छठ पर्व नजिकिँदै छ अनि सबै विद्यालय एकैपटक खोल्न सक्ने अवस्था पनि निर्माण भइसकेको छैन’, प्रवक्ता सापकोटाले नागरिकसँग भने, ‘यसकारण पालिकाहरूले अवस्था र व्यवस्थाको व्यवस्थापन गरेर आफूअनुकुल विद्यालय सञ्चालन गर्न भनेका छौं।’
उनका अनुसार आइतबार व्यवस्था मिलन र शिक्षक तथा विद्यालयका चिजविज व्यवस्थापन गर्न लाग्यो सोमबारदेखि क्रमशः खुल्दै जाने छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुंगानाले ललितपुर र काठमाडौं महानगरपालिकाले सोमबारदेखि विद्यालय सञ्चालन गर्न सक्ने निर्देशन दिएअनुसार निजी विद्यालयहरू सोमबारदेखि विद्यालय सुचारु गर्ने तयारीमा जुटेको बताए। ‘प्याब्सनका देशभरिका विद्यालय आइतबारदेखि सञ्चालन गर्ने भनिए पनि केहीले मात्र सञ्चालन गरे’, ढुंगानाले भने, ‘सोमबारदेखि निजी विद्यालय भने निर्बाध रूपमा सञ्चालन गर्ने प्याब्सनको तयारी छ।’
काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख केशव ज्ञवालीले महानगरभित्रका विद्यालयहरू आइतबारदेखि सञ्चालन हुने तय गरिएको भए पनि विद्यालयमा उपस्थित हुने तर उक्त दिन विद्यार्थी नबोलाउने र कुनै क्षति भएको देखिएमा महानगरमा सोको विवरण उपलब्ध गराउने, सरसफाइ गर्ने, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने र अवस्था सामान्य नहुञ्जेल बालाबालिकालाई विद्यालयमा ल्याउन र लैजाने अनुरोध गर्ने विद्यालयलाई निर्देशन दिएको जनाए।
‘अभिभावकले आफ्ना बालबालिका विद्यालयमा ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा उनीहरूलाई सोमबार अर्थात् भदौ ३० देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन–अध्यापन गराउने व्यवस्था गर्न निर्देशन महानगरको छ’, प्रमुख ज्ञवालीले भने, ‘विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअलमार्फत सहजीकरण गर्ने निर्देशन छ।’