जेन-जी आन्दोलनका क्रममा भएको आगजनीले भग्नावशेषमा परिणत भएको नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा कार्यकर्ताहरूले पुनर्निर्माण र पुनर्जागरणको संकल्प व्यक्त गरेका छन्।
आइतबार बिहान जलेको कार्यालय ‘हामी फेरि उठ्नेछौं, अझै बलियो, अझै एकत्र’ लेखिएको ब्यानर टाँस्दै उनीहरूले पार्टीको आस्था र विश्वास नढलेको बताएका हुन्।
केही संख्यामा उपस्थित कार्यकर्ताहरूले पार्टीको झण्डा गाड्दै सांकेतिक रूपमा फेरि सुरुवात भएको घोषणा गरे। उनीहरूले ‘संविधानको रक्षा गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए भने ‘एमाले जिन्दावाद’ को नारासमेत लगाएका थिए।
एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीले पार्टीको भौतिक संरचना ध्वस्त भए पनि कार्यकर्ताको मनोबल र वैचारिक आस्था नढलेको स्पष्ट पारेको बताइन्। उनले यो विनाशबाट उठेर पार्टीलाई अझ बलियो र एकीकृत बनाउने संकल्प सबै कार्यकर्ताले लिएको बताइन्।
गत मंगलबार भएको प्रदर्शनका क्रममा आक्रोशित समूहले एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरेको थियो।