सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पुगेको क्षतिको विवरण संकलन र सफाइ कार्य सुरु भएको छ।

आन्दोलनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित एक दर्जनभन्दा बढी महत्त्वपूर्ण सरकारी निकायमा ठूलो क्षति पुर्‍याएको छ।

शनिबार बिहानैदेखि विभिन्न मन्त्रालयका कर्मचारीहरू आफ्नो कार्यालयको भग्नावशेषमा उपस्थित भई सरसफाइमा जुटेका छन्। उनीहरूले जलेका र छरपस्ट भएका महत्वपूर्ण कागजात, फाइल र अन्य सामग्रीहरूलाई सुरक्षित गर्ने प्रयास गरिरहेका छन्।

आन्दोलनका क्रममा सिंहदरबारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, र अर्थ मन्त्रालयमा आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको छ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका भवनहरू पनि आक्रमणको निशाना बनेका छन्।

सिंहदरबार परिसर बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन भने पूर्ण रूपमा जलेर नष्ट भएको छ। मन्त्रालय परिसरमा पार्किङ गरिएका दर्जनौं सरकारी सवारीसाधनहरू पनि पूर्ण रूपमा ध्वस्त भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको मुख्य भवनमा आगजनीबाट ठूलो क्षति पुगेपछि त्यसलाई तत्कालका लागि गृह मन्त्रालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। कर्मचारीहरूले त्यहाँबाटै आफ्नो काम सुरु गरेका छन्।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको युवाहरूको आन्दोलनले देशको प्रशासनिक मुटुमा नै प्रहार गरेपछि अब क्षतिको यकिन विवरण संकलन गर्न र पुनःसञ्चालनको व्यवस्था मिलाउन सरकारलाई ठूलो चुनौती थपिएको छ।