भारत र पाकिस्तानबीच क्रिकेट: उक्साहटमा नलाग्न वासिमकाे सुझाव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाकिस्तानी क्रिकेटर वासिम अक्रमले एसिया कपमा भारत र पाकिस्तानले बाहिरी कुरामा ध्यान नदिइ खेलको आनन्द लिएर प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।

टी ट्वान्टी फरम्याटको एसिया कपमा आइतबार भारत र पाकिस्तानबीच हुने प्रतिस्पर्धा बहुप्रतीक्षित खेलका रूपमा लिइएको छ। उक्त खेलमा दुवै राष्ट्रले बाहिर कुरा ध्यान दिन नहुने तीव्र गतिका पूर्वबलर अक्रमले धारणा राखेका हुन्। दुबईमा हुने समूह ‘ए’ को यो खेलले क्रिकेट समर्थकको पनि ध्यान खिचिरहेको छ। चार महिनाअगाडि मात्र युद्धको संघारमा देखिएका यी दुई राष्ट्र त्यसयता पहिलोपल्ट खेल्दैछन्।

सन् २००८ मा मुम्बई आक्रमण भएपछि भारत र पाकिस्तानबीच कुनै पनि शृंखला भएको छैन। धेरै भारतीयले पाकिस्तानसँग क्रिकेट नखेल्न पनि भनिरहेका छन्। त्यो आक्रमणमा पाकिस्तानी आर्मीको हात रहेको भारतले अहिले पनि आरोप लगाउने गरेको छ। तर, सबै कुरा बिर्सेर खेलमा आनन्द लिन अक्रमको आग्रह छ।

‘त्यो खेलमा आनन्द लिन आग्रह गर्दछु,’उनले भने। टी ट्वान्टी प्रतियोगितामा हुने रोमाञ्चक प्रतिस्पर्धामध्ये यो एक हो । ‘क्रिकेटभन्दा अन्य पक्ष बिर्सनुपर्छ। एउटा टिमले जित्ने हो र अर्कोले हार्ने,’उनले भने,‘खेल जित्यौं भने त्यसमा खुसी मनायौं। दबाब आउँछन् तर यसमा खुसी भएर खेलौं र क्रिकेटको भावना जोगाउ। यो दुवै टिम र उनीहरूका समर्थकहरूका लागि पनि हो।’

करिब २५ हजार समर्थक दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भरिने अनुमान गरिएको छ। यो अवस्थामा कति धेरै दबाब हुन्छ भन्ने आफ्नो १९ वर्षको अन्तर्राष्ट्रिय करियरमा अनुभव गरेको उनी बताउँछन्। ‘भारतसँगको हरेक खेलमा खुसी हुन्छु। विपक्षी खेलाडीले पनि त्यस्तै अनुभव गर्छन्,’पाकिस्तानका पूर्वकप्तान उनले भने।

सन् १९९९ मा कट्टरपन्थीको धम्कीका समयमा पनि उनी पाकिस्तानी टोलीको नेतृत्व गर्दै भारत गएका थिए। सन् १९८७ मा पाकिस्तानले भारत भ्रमण गर्दा पनि ५९ वर्षे अक्रम टोलीका सदस्य हुन्, जतिबेला दुई देश युद्धनजिक थिए। अनुभवहीन पाकिस्तानलाई ठूलो सफलताबारे सोच्न भन्दै उनले टी ट्वान्टी विश्वकप विजेता तथा कट्टर प्रतिद्वन्द्वी भारतसँग खेल्ने उत्साहबाट नबहकिन सल्लाह दिए। ‘पछिल्लो हप्ता मात्र पाकिस्तानले त्रिदेशीय शृंखला जितेको थियो। त्यसैले यो टोलीलाई अवसर छ,’उनले अफगानिस्तान र युएईसँगको शृंखलाबारे स्मरण गरे। भारतसँग जित्नुछ भन्दा पनि एसिया कप जित्छौं भन्ने ध्यानमा राख्न अक्रमको सल्लाह छ।

‘यो टोलीसँग हार हुन पनि सक्छ तर, त्यहाँबाट उठेर प्रतियोगितामा राम्रो गर्न सक्नुपर्छ, ’उनले भने,‘युएइसँग भारतको नतिजाजस्तो खेल एकपक्षीय हुने छैन।’ युएईले उक्त खेलमा दिएको ५७ रनको लक्ष्य भारतले ४.३ ओभरमै भेट्टाएको थियो। भारत र पाकिस्तानबीचको खेलमा जस्तो सुकै नतिजा आउन सक्ने उनले औंल्याएका छन्। पाकिस्तानले पहिलो खेलमा शुक्रबार ओमानलाई ९३ रनको फराकिलो अन्तरले हराएको थियो। अर्को समूह ‘बी’ श्रीलंका, अफगानिस्तान, हङकङ र बंगलादेश छन्। हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन्। यहाँ शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एसिया कप फाइनल आगामी सेप्टेम्बर २८ तारिखमा दुबईमा हुनेछ।