पोखराका मेयरद्वारा दुःख व्यक्त र शान्ति कायम राख्न आह्वान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हालैको ‘जेन-जी’ आन्दोलन, जसमा उनको व्यक्तिगत निवासमाथि पनि आक्रमण भएको थियो, त्यस विषयमा सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। पोखरामा भएको हिंसा र क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन्।

पोखराका मेयर धनराज आचार्यले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई धैर्य र शान्ति कायम राख्न आग्रह गरेका छन्। उनले आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। मेयर आचार्यले आन्दोलनकारी युवाहरूको मागसँग आफू ऐक्यबद्ध रहेको बताउँदै केही अराजक तत्वहरूले आन्दोलनलाई दूषित पारेको आरोप लगाएका छन्।

मेयर आचार्यले स्थानीय सरकारका कार्यालयहरूमा भएको आगजनी र विनाशको घटनालाई आन्दोलनकारीको नभई बाहिरी तत्वको षड्यन्त्र भएको दाबी गरेका छन्। उनले भने, “जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारका कार्यालयहरूमा गरिएको आगजनी र विनाश आन्दोलनकारी युवाभन्दा बाहिरी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य हामीसँग छ।” यस घटनाबाट भएको सम्पूर्ण क्षतिको विवरण संकलन भइरहेको पनि उनले जानकारी दिएका छन्।

मेयर आचार्यले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बनेकोमा सम्माननीय शुशिला कार्कीलाई बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले यसलाई नेपालको राजनीतिमा एक नयाँ अध्यायको सुरुवात भएको बताए ।

आन्दोलनको क्रममा आफ्नो २० वर्ष पुरानो निवास ध्वस्त पारिएको बताउँदै मेयर आचार्यले यस घटनालाई घुसपैठकर्ताहरूको स्वार्थ प्रेरित कार्य भएको आरोप लगाएका छन्। उनले आफू मेयर बनेपछि कुनै आर्थिक लाभ नलिएको स्पष्ट पारेका छन्। उनले आफ्नो मासिक सुविधा समेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गरिरहेको बताएका छन्।
“म विगत ३३ वर्षदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति हुँ, मेरो जीवन पोखरेलीहरूसामु सधैं खुला किताबझैं छ,” उनले भने। मेयर आचार्यले ३ वर्षको नेतृत्व अवधिमा कुनै अनैतिक कार्य नगरेको र केही स्वार्थी समूहहरूले आफ्नो गलत काम गर्न नदिएको कारणले आफू र आफ्नो परिवारलाई निरन्तर बदनाम गर्ने र मानसिक यातना दिने काम गरिरहेको बताएका छन्।

मेयर आचार्यले यस कठिन समयमा आफूलाई सान्त्वना, सद्भाव र सहयोग पुर्याउने सम्पूर्ण इष्टमित्र, साथीभाइ र शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले सत्यको जित हुने विश्वास व्यक्त गर्दै यस विनाशकारी घटनामा संलग्न सबैले भविष्यमा आफ्नो गलत कार्यको परिणाम भोग्नुपर्ने बताएका छन्।