राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही क्षेत्र नम्बर ३ मा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरी रास्वपाका उपसभापति डिपी अर्यालले थापालाई लेखजंगलाई बनाउने घोषणा गरेको हो।
रास्वपाले प्राइमरी इलेक्सन गरी उम्मेदवार छानेको बताएको छ।
९ जना उम्मेदवार बन्न आकांक्षी थिए। त्यसमध्ये लेखजंगलाई उम्मेदवार बनाएको हो।
भैरहवाका लेखजंग वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन्।
नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन्।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फर्मेटिभ’का ग्राजुएट्स हुन्।
उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा योगदान पुर्याएका छन्।
उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको छ।
निर्वाचन आयोगले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ र मनाङमा निर्वाचन गर्ने घोषणा गरेको छ।