१० दिनदेखि बेपत्ता बालक मृत फेला, धानखेतमा भेटियो शव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दसैँको टीकाका दिन घरबाट बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्।

घरपरिवार, गाउँले र प्रहरीले निरन्तर खोजी गरे पनि साकेतलाई जीवित भेट्ने आशा अन्ततः निराशामा परिणत भएको छ। घरबाट पाँच किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा शनिबार उनको शव फेला परेको हो।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार धानखेतमा बालकको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। खनालले भने, ‘प्रारम्भिक अवस्थामा हेर्दा बालकको शव डिसकम्पोजको अवस्थामा रहेको छ । थप अनुसन्धान अगाडि बढाएका छौँ ।’

गत कात्तिक ४ गते दशैँको टीकाका दिन साकेत घरबाट निस्किएपछि बेपत्ता भएका थिए। उनी सम्पर्कविहीन भएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका थिए। उनको खोजीमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत समेत सर्वसाधारणसँग अपिल गरिएको थियो।

बालकको खोजी देवडिहा गाउँमा मात्र सीमित नभई नेपालका विभिन्न स्थानका साथै भारतको बिहारसँग जोडिएका सहरहरूमा समेत गरिएको थियो। प्रहरी र स्थानीयले आसपासका गाउँ, पोखरी, झाडी तथा सम्भावित स्थानहरूमा खोजीलाई तीव्रता दिएका थिए।

तर, १० दिनसम्मको निरन्तर प्रयासका बाबजुद साकेत जीवित फेला पर्न सकेनन्।