युवा संघ नेपाल नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आयोजक कमिटी सदस्यहरूको बैठक सम्पन्न भएको छ।
बैठकको अध्यक्षता प्रदेश कमिटी इन्चार्ज सुष्मा कट्टेलले गर्नुभएको थियो भने पार्टी केन्द्रीय कमिटीका सचिव श्रीनाथ बराल, दिलु पन्त, कृष्ण नेपाली, धर्म शाही, ठाकुर प्रसाद शर्मा, खड्ग हमाल, बिराज हमाल, विवेक भुजेललगायत नेताहरूको उपस्थिति रहेको थियो।
बैठकले भाद्र २३ र २४ गते काठमाडौंमा आयोजना हुने केन्द्रीय कमिटी बैठकमा अनिवार्य रुपमा उपस्थित हुने निर्णय गरेको छ। साथै मातहतका कमिटीहरूको बैठक तथा भेलाहरू कात्तिक मसान्तभित्र सम्पन्न गर्ने समेत निर्णय गरिएको छ।
त्यसैगरी भारत र चिनले नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक नाका बनाउने निर्णय गरेकोप्रति बैठकले घोर भत्सर्ना गर्दै नेपाल सरकारले तत्काल कूटनीतिक पहलमार्फत सो निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ।
नजिकिँदै गरेका चाडपर्वहरूको अवसरमा बजारमा देखिएको अनियमितता, कालोबजारी र महँगीका विषयमा बैठकमा विशेष छलफल गरी यसको नियन्त्रण र नियमनका लागि स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको बैठकले जनाएको छ।