पोखरामा पहिलो पटक आयोजित राष्ट्रिय घर निर्माण फेस्ट २०८२ को पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन्। स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका-१० स्थित अमरसिंह चौरमा सुरु भएको यो फेस्ट शनिबारसम्म चल्नेछ। घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्ने लगायतका आवश्यक सम्पूर्ण जानकारी तथा सेवाहरू एउटै छतमुनि उपलब्ध गराउने उद्देश्यले यो फेस्ट आयोजना गरिएको हो।
मेयर आचार्यले फेस्टको उद्घाटन गर्दै घर निर्माणलाई खेलाँचीको विषय नभई प्रत्येक व्यक्तिको सपना भएको बताएका छन्। उनले घर कस्तो बनाउने, कस्तो हुनुपर्छ, जमिनको अवस्था र बजेट जस्ता महत्त्वपूर्ण पक्षहरूमा ध्यान दिनुपर्नेमा जोड दिए। विशेषगरी, स्वास्थ्यलाई ध्यानमा राख्दै घरमा हावा र प्रकाशको उचित व्यवस्थापनमा जोड दिनुपर्ने उनको भनाइ थियो। आचार्यले हाल पोखराका ८० प्रतिशत घरहरूमा हावा र प्रकाशको समस्या रहेको औंल्याउँदै पोखराले देशमै पहिलोपटक भवन निर्माण आचारसंहिता बनाएर जारी गरेको र त्यसको पालना गरेमा कुनै समस्या नआउने बताए। यस्ता फेस्टहरूले प्राविधिकहरूसँग सल्लाह लिन र घर निर्माण प्रक्रियालाई सहजीकरण गर्न मद्दत पुग्ने उनको विश्वास छ। उनले पोखरामा निर्माणसँग सम्बन्धित करिब एक सय कन्सल्टेन्सी र एक हजार हाराहारीमा प्राविधिकहरू रहेको जानकारी पनि दिए।
स्किल सेवाका संचालकमध्येकी एक सताक्षी मिश्रले ‘जो गर्छौं नेपालमा गर्छौं’ भन्ने उद्देश्यका साथ स्किल सेवा स्थापना गरिएको जानकारी दिइन्। फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक जनसमुदायका प्रतिनिधिहरू सहभागी हुने उनले बताइन्। दुईदिने यस फेस्टमा पाँच हजारभन्दा बढीले अवलोकन गर्दै आवश्यक जानकारी लिने आयोजकको अपेक्षा छ। निर्माणका क्रममा दक्ष जनशक्ति र प्रविधिको प्रयोगले घरलाई मजबुत र टिकाउ बनाउने बताउँदै मिश्रले हरेक मानिसका लागि घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यसलाई भरपर्दो, सुरक्षित र दिगो बनाउन आवश्यक रहेकोमा जोड दिइन्।
फेस्टमा घर निर्माण गर्दा खर्च कम गर्ने उपायहरू, विभिन्न प्रकारका सिमेन्ट, इँटा, डन्डी, ग्लास, टायल्सको प्रयोगबारे जानकारी दिइनेछ। साथै, लेबर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गुलर निर्माण योजना, निर्माण अवधिदेखि फ्लोरिङ र समापनसम्मको स्टेप-बाइ-स्टेप प्रक्रियाका बारेमा पनि जानकारी उपलब्ध गराइनेछ। मिश्रका अनुसार फेस्टमा आएर घर निर्माणका लागि सम्झौता गर्ने पहिलो १४/१४ गरी ३० जनालाई करिब चार लाख रुपैयाँ बराबरको निर्माण सामग्रीहरू उपलब्ध गराइनेछ।
अर्का संचालक समन कुँवरले घर निर्माणमा सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु साथै घर निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको बारेमा सर्वसाधारण एवं सरोकारवालाहरूलाई जानकारी दिनु फेस्टको मुख्य उद्देश्य रहेको बताए। फेस्टले आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापनमार्फत घर निर्माणका नवीनतम अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुग्ने कुँवरको भनाइ छ। यस फेस्टमा आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरूको प्रस्तुति र लगानी जुटाउने अवसरहरू पनि उजागर गरिनेछन्, जसले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा आयोजकको छ।
स्किल सेवाका सीईओ रमेश तिमिल्सिनाका अनुसार फेस्टमा विभिन्न निर्माण सम्बन्धी कम्पनीहरू, बैंक लगायतका ३२ वटा स्टल रहेका छन्। फेस्टमा इन्टेरियरका सामानहरू सुपथ मूल्यमा पाइने उनले बताए। घर निर्माण गर्दा आवश्यक कुरा मात्र राख्दा खर्च कम हुने बताउँदै यसको सहजीकरणका लागि एकीकृत प्लेटफर्म उपलब्ध गराउने आयोजकको उद्देश्य रहेको बताए। तिमिल्सिनाले फेस्टमार्फत घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्ने कुराको जानकारी लिन सर्वसाधारणसँगै सरोकारवालाहरूलाई आग्रह गरेका छन्।