पोखरा – कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा तीनवटा नयाँ विकास परियोजनाका लागि करिब २९ मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । साथै, पोखरामा निकट भविष्यमा एक सुविधा सम्पन्न जलन अस्पताल निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ । कोइकाको यस कदमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उच्च प्रशंसा गर्नुभएको छ ।
कोइकाले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको अवसरमा आयोजित “सँगैका ३० वर्ष: विश्वास र सहकार्यको यात्रा” नामक विशेष समारोहमा उक्त घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर आचार्यले विकास साझेदार र एक असल मित्रका रूपमा कोइकाले नेपालको समग्र विकासमा पुर्याएको योगदानको सराहना गर्नुभयो ।
“कोइकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सृजना जस्ता महत्त्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रशंसनीय छ,” मेयर आचार्यले भन्नुभयो, “पोखरामा हरित रोजगारी सृजनाका लागि ‘ग्रिन भेन्चर जोन’ परियोजना सञ्चालनमा छ र अब निकट भविष्यमा सुविधा सम्पन्न जलन अस्पताल निर्माण गर्ने प्रतिबद्धताका लागि हामी आभारी छौं ।”
समारोहमा हस्ताक्षर गरिएका नयाँ परियोजनाहरूमा करिब ९ मिलियन डलर लागतको गण्डकी प्राविधिक संस्थान स्थापना, १० मिलियन डलरको फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास, र १० मिलियन डलर लागतको सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना रहेका छन् ।
कोइका नेपालका देशीय निर्देशक मूहन कंगले नेपालसँगको दीर्घकालीन साझेदारी र दिगो विकासप्रति कोइका दृढ रहेको बताउनुभयो । सन् १९९१ देखि नेपालमा सक्रिय कोइकाले हालसम्म स्वास्थ्य, शिक्षा, कृषि, र प्रविधि जस्ता क्षेत्रमा २०० मिलियन अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यो नयाँ लगानी र प्रतिबद्धताले नेपाल र दक्षिण कोरियाबिचको मित्रता र सहकार्यलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।