पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा उत्कृष्ट बनाउन प्रध्यानाध्यापकहरुलाई निर्देशन दिनुभएको छ । उहाँले अब नगरबासीले आफ्ना छोराछोरीलाई निजीभन्दा सामुदायिक विद्यालयमा राम्रो शिक्षा पाइन्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न आग्रह गर्नुभयो ।
पोखरा महानगर क्षेत्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुका लागि आयोजित डिजिटल लर्निङ अभिमुखीकरण कार्यक्रममा बोल्दै मेयर आचार्यले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “विद्यालयमा सिकेको कुराको पुनरावृत्ति, नबुझेका कुराहरू बुझ्ने, नजानेका कुराहरू अनलाइन मार्फत सोध्ने जस्ता सुविधाले विद्यार्थीको सिकाइमा सहजता ल्याउनेछ ।”
कार्यक्रममा विशेष गरी कक्षा १० का विद्यार्थीहरूलाई अनलाइन शिक्षण सिकाइमा संलग्न गराउने उद्देश्यले ‘एम्बिसन गुरु’ नामक एपका विज्ञहरूले प्रशिक्षण दिएका थिए । मेयर आचार्यले एम्बिसन गुरु एपमा रहेका मक टेस्ट, लाइभ टिचिङ लगायतका फिचरहरूको सहायताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुने र नतिजामा समेत सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विद्यालय शिक्षाको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक रहे पनि ढुक्क भएर बस्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै उहाँले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गरी त्यसलाई नतिजामा परिणत गर्न प्रध्यानाध्यापकहरुलाई सुझाव दिनुभयो ।
के हो एम्बिसन गुरु ?
एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो, जुन मोबाइल एप र वेब दुवैमा उपलब्ध छ । विद्यालयमा सिकेका कुरामा कुनै अलमल वा अस्पष्टता भएमा यो एपमार्फत विद्यार्थीले सहजीकरण प्राप्त गर्न सक्छन् ।
घुन्सा फाउन्डेसनद्वारा प्रवर्दित यस एपले शिक्षालाई सबैको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ । फाउन्डेसनकी संस्थापक तथा नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पाका अनुसार, एम्बिसन गुरुले देशकै सर्वोत्कृष्ट शिक्षालाई न्यूनतम मूल्यमा उपलब्ध गराउने दाबी गरेको छ । यसैअनुसार, हाल सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूलाई निःशुल्क अनलाइन शिक्षा प्रदान गरिरहेको छ ।