अस्ट्रेलियामा देशव्यापी हुन लागेको प्रदर्शनलाई एनआरएनएले भन्यो- सामाजिक सद्भावको मान्यता विपरीत

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आगामी अगष्ट ३१ तारिख (भदौ १५ गते) देशव्यापी हुन लागेको ‘मार्च फर अस्ट्रेलिया, अस्ट्रेलिया फर्स्ट’ नामक प्रदर्शन र र्‍यालीको विरोध गरेको छ।

आप्रवासन विरोधी भावना र विभाजनलाई प्रवर्द्धन गर्ने यी र्‍यालीहरू अस्ट्रेलियालाई परिभाषित गर्ने बहुसांस्कृतिकता, समावेशीता र सामाजिक सद्भावको मूल्यमान्यता विपरीत रहेको निष्कर्ष एनआरएनए अस्ट्रेलियाले निकालेको छ।

एनआरएनएले यस्ता खाले प्रदर्शन र र्‍यालीले आप्रवासीवरोधी भावना बढाउने भन्दै यसको कडा शब्दमा विरोध गरेका छ।

अध्यक्ष अनिल पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्ता खाले प्रदर्शनबाट अस्ट्रेलियाको बहुसंस्कृतिवाद, समावेशिता र सामाजिक सद्भावका मूल्यमा प्रहार गर्ने भन्दै सम्पूर्ण अस्ट्रेलियालीहरुलाई जातीय विभेद, वैमनस्यता र विभाजनका विरूद्ध उभिन आह्वान समेत गरेका छन्।

‘एनआरएन अस्ट्रेलिया यहाँको समाजमा रहेका विविधताहरुको उत्सव मनाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछ। आप्रवासी र प्रवासी समुदायले देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्बृद्ध बनाउँदै आएका छन् भन्ने कुरालाई स्मरण गराउन चाहन्छौं । सामाजिक चुनौतीहरुको दोष आप्रवासीहरुलाई लगाउने कुनै पनि प्रयासलाई हामी अस्वीकार गर्दछौं र अस्ट्रेलियालीहरुलाई जातीय विभेद, वैमनस्यता र विभाजनका विरद्ध उभिन आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

यसैबीच एनआरएन अस्ट्रेलियाले यहाँको राजनीतिक वर्ग, समूदायका अगुवाहरुलाई एकता प्रबर्द्धन गर्न र घृणामा आधारित आन्दोलनहरुलाई अस्वीकार गर्न समेत आग्रह गरेको छ ।

‘हामी सामाजिक चुनौतीहरूको लागि आप्रवासीहरूलाई बलिको बोका बनाउने कुनै पनि प्रयासलाई दृढतापूर्वक अस्वीकार गर्छौं र सबै अस्ट्रेलियालीहरूलाई जातिवाद, विदेशीहरूप्रति घृणा र विभाजनको विरुद्धमा उभिन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सरकारी अधिकारीहरू, समुदायका नेताहरू र नागरिकहरूलाई एकता प्रवर्द्धन गर्न र घृणामा आधारित आन्दोलनहरूलाई अस्वीकार गर्न आह्वान गर्दछौं। एनआरएनए अस्ट्रेलियाले अस्ट्रेलियाका सबै बहुसांस्कृतिक समुदायहरूको समावेशीकरण, सम्मान र कल्याणको लागि काम गरिरहनेछ।’

आगामी अगस्ट ३१ मा हुने ‘मार्च फर अस्ट्रेलिया’ नामक आप्रवासन विरोधी विरोध प्रदर्शनहरू प्रमुख अस्ट्रेलियाली शहरहरूमा हुने तयारी छ। आप्रवासीहरुबीच भने यसले भयको वातावरण निर्माण गरिदिएको छ।

मुख्यतः अस्ट्रेलिया बहुसांस्कृतिक समाज भएको देश हो । यहाँको लगभग सबै जनसंख्या नै अन्त कतैबाट यहाँ बसाई सरेर आएका हुन्। थोरै संख्यामा मात्रै यहाँका आदिवासीहरु रहेका छन्।