पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदी सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले विहीबार आफ्नो सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन कार्यक्रमको अवसरमा सुवेदीलाई पर्यटन पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारी लगायतले दोषल्ला, नगद र सम्मान पत्रले सम्मान गरेका थिए । केन्द्रभाग डटकमका प्रधान सम्पादक रहेका सुवेदी विगत दुइ दशक देखि पोखरामा क्रियाशीलरुपमा कार्यरत छन् ।
नेपाल पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव सुवेदी यस अगाडि आर्थिक पत्रकारिता पुरस्कार, यातायात पत्रकारिता पुरस्कार, क्रियाशील युवा पत्रकारिता पुरस्कार लगायत विभिन्न संघ संस्थाले प्रदान गर्ने पुरस्कार र सम्मानबाट पुरस्कृत भइसकेका छन् ।