वर्षायाममा फेवातालको माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारको स्रोत मै व्यवस्थापनका लागि महानगरपालिकाले विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ । नागरिक समाज र स्थानीय समुदायहरूले महानगरका यी अभियानहरूमा प्रत्यक्ष रूपमा सहभागिता जनाउने गरेका छन् । सार्वजनिक आह्वानका रूपमा आयोजना गरिने यस प्रकारका अभियानका अलवा महानगरपालिकाले दैनिक ज्यालादारीमा समेत जलकुम्भी झारको व्यवस्थापनमा मानिसहरू खटाउने गरेको छ ।
शनिवार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का युवाहरूको आह्वानमा फेवातालको खपौदीक्षेत्रमा जलकुम्भी झारको व्यवस्थापन कार्य भएको छ । सो कार्यमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी हुनुहुन्थ्यो । राजनीतिक रूपमा सार्वजनिक आह्वान नै गरेर फेवातालको जलकुम्भी झार व्यवस्थापन कार्यमा राजनीतिक सहभागिता देखिएको यो पहिलो पटक हो । यसले प्रेरणादायी रूपमा राजनीतिक दलहरूलाई समेत ताल तलैयाको सरसफाइ र संरक्षण लगायत सार्वजनिक सरोकारका विषयहरूमा स्वतःस्फूर्त सहभागितालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । नेकपा एसमा आबद्ध युवाहरू, स्थानीय जलारी समुदाय, नागरिक समाज र नगर प्रहरी समेत शनिवारको कार्यक्रममा सहभागी छन् । उनीहरूले फेवातालको खपौदी क्षेत्रमा सरसफाइ गरेका छन् ।
फेवातालको माथिल्लो तटीय (सिमसार) क्षेत्रमा विकसित हुने जलकुम्भी झार बर्सातको समयमा पर्ने पानीको बेगसँगै तालको तल्लो क्षेत्रसम्म आएर ताललाई ढाक्ने गर्दछ । यसले तालको सुन्दरतामा असर पुर्याउने र बोटिङ् लगायत गतिविधिहरूमा अवरोध पुर्याउने गर्दछ । नगर प्रमुख आचार्यले फेवातालका सन्दर्भमा महानगरपालिकाले तालको सिमाङ्कन गर्ने एक ऐतिहासिक कार्य सफलपुर्वक सम्पन्न गरेको उल्लेख गर्दै यसको दिगो भविष्य निर्माणका लागि थप कार्य समेत योजनाबद्ध रूपमा सञ्चालन गरिने बताउनुभयो । तालको संरक्षण, सौन्दर्यीकरण र विकासका लागि सबै सरोकारवालाहरूको साथ र सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । फेवातालको सफाइमा सहभागी युवाहरू, नागरिक समाज, स्थानीय समुदाय, नगर प्रहरी, पर्यटन व्यवसायी लगायत प्रति आभार समेत प्रकट गर्नुभएको छ ।