एक वर्षमा ३ हजार ५ सय जना फरार प्रतिवादी पक्राउ, १४ करोड राजस्व संकलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कोशी प्रदेश प्रहरीले फैसला कार्यान्वयन अभियान अन्तर्गत गत आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्न चलाइएको विशेष अभियानमा प्रहरीले यो सफलता हात पारेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट १ हजार ४ सय १६ वर्षभन्दा बढीको कैद सजाय र १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवानाबापतको राजस्व संकलन भएको छ ।

प्रहरीले विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसँगको सहकार्यमार्फत फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको जनाएको छ ।

अभियान अन्तर्गत सबैभन्दा बढी मोरङबाट १ हजार १५६, सुनसरीबाट १ हजार २ र झापाबाट ५ सय ३४ जना पक्राउ परेका छन् । त्यसैगरी उदयपुरबाट २ सय ६०, इलामबाट १ सय ४६ तथा अन्य जिल्लाहरूबाट समेत गरी कुल ३ हजार ५१३ जनालाई कानुनी दायरामा ल्याइएको हो ।

प्रहरीले अपराध गरेर कोही पनि उम्कन नसक्ने सन्देश दिँदै समाजमा लुकेर बसेका फरार अपराधीबारे सूचना दिएर सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ । सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिने प्रतिबद्धता समेत प्रहरीले व्यक्त गरेको छ ।