‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रियसभा सदस्य सुरेश कुमार आलेमगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता अनुसार काम हुन नसकेको बताएका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिवद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाए ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकी भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिन्छ । जताततै भ्रष्टाचार देखिन्छ ।’

कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको अडियो सार्वजनिक भइसकेपछि पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राखेको उनले बताए । गुप्ताले आरोप लागेसँगै राजीनामा दिइसकेका छन् ।

तर, अर्को मन्त्री समेत आरोपित रहेको उनले बताए । ‘… अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइन छ कि छैन थाहा छैन’, सांसद आलेले भने ।

कास्कीको पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको आरोप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि लागेको छ । तर, सार्वजनिक अडियो मन्त्री अधिकारीले स्विकारेका छैनन् ।