दाउराको जोहो गर्न गएका तामाङ दम्पती बाढीमा फसेपछि…

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पती अचानक बाढीमा फसेपछि मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीय पत्नी मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका हुन् ।

तामाङ दम्पती रसुवातिरबाट आएको बाढीमा फसेका थिए । झिसमिसेमै दाउरा संकलनका लागि हिँडेका पाल्देन र उनकी श्रीमती खोलामा पुगेलगत्तै बाढीमा पसेका थिए ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार पाल्देन दम्पती दैनिक दाउरा काट्न सो क्षेत्रमा पुग्ने गरेका थिए । सोही क्रममा मंगलबार पनि उनीहरू दाउरा सङ्कलन गर्न खोला किनारमा पुगेको र बाढीमा फसेको प्रहरी नायब उपरीक्षक लामाले बताए । रसुवाबाट बगेर आएको बाढी नुवाकोटको त्रिशुलीमा मिसिएपछि खोलाको बेग उच्च भएको उनले बताए ।

किस्पाङ गाउँपालिका–४ साल्मे स्थायी घर भई हाल विदुर नगरपालिका–९ मिलन चौतारामा बस्दै आएका तामाङ दम्पती नदी छेउतिर रुखका सुकेका हाँगा बटुल्न थालेका थिए । अचानक त्रिशुलीको बेग बढेको अनुभूति भएपछि उनीहरू नजिकै रहेको सिसौको रुखमा चढे र डोकोलाई हाँगामा झुन्ड्याए ।

घटना त्रिशूली बसपार्क नजिक भएकाले स्थानीयले उनीहरूलाई देखे । त्यसपछि होहल्ला भयो । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूको उद्धार गरियो । एक घण्टा रुखमा बिताएका उनीहरूलाई उद्धारपछि स्वास्थ्य परीक्षणपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक लामाले बताए । स्वास्थ्य परीक्षणका क्रममा उनीहरूमा कुनै समस्या नदेखिएको बताइएको छ ।

घटना हुनुपूर्व नै प्रहरीले सुरक्षा सतर्कता अपनाउन र खोला किनारमा नजान माइकिङसमेत गरेको थियो । बिहान ४ बजेदेखि नै प्रहरीले बाढी आउनेबारे जानकारी गराएको लामाको भनाइ छ ।