नेकपा एकीकृत समाजवादी पार्टी पोखरा महानगरपालिका वडा नं. १४ को वडा अधिवेशनको पूर्वसन्ध्यामा सोही वडाका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील ४८ जना व्यक्तिहरु पार्टीमा प्रवेश गरेका छन्। उनीहरुलाई पार्टी पोलिटब्युरो सदस्य तथा पोखरा महानगरपालिका मेयर घनराज आचार्यले टिका, खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो।
वडा कमिटी अध्यक्ष बलबहादुर मगरको अध्यक्षतामा सुरु भएको अधिवेशनमा बोल्दै मेयर आचार्यले वडा नं. १४ को विकासमा महानगरको विशेष ध्यान रहेको र जनतालाई समाजवादको अनुभूति गराउने गरी विभिन्न कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो। उहाँले, “हामीले वडा १४ को आँगनको एयरपोर्ट सञ्चालन ग¥यौं, फोहोर फाल्ने स्थानमा गाईगोरुलाई व्यवस्थापन गरेर गौशाला बनायौं। अन्य वडाहरूसँग जोड्ने पुल निर्माणदेखि भूमिहीनलाई निस्सा वितरणसम्मका कार्यलाई प्राथमिकता दिएका छौं,” भन्नुभयो।
कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य सर्मिला पौडेलले महिलाको सशक्तिकरण, युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने तथा स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा पार्टी अग्रसर रहेको बताउनुभयो।
जिल्ला कमिटी सचिव डिबी राईले वडा अधिवेशन आजै सम्पन्न भई नयाँ नेतृत्व चयन गरिने जानकारी दिनुभयो। कार्यक्रममा जिल्ला उपाध्यक्ष पूर्ण लामा, महानगर कमिटी अध्यक्ष कमरेड प्रेम थापा, जिल्ला उपसचिव कपिल पौडेल, ट्रेड युनियन नेता तिलक विश्वकर्मा, हरिराम धिताललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव गंगा राईले गर्नुभएको थियो।