५ करोड ४० लाखको शंकास्पद चेक लेनदेन विषयमा सांसद मेटमणि चौधरी र ठेकेदारले गरे सहमति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाँच करोड ४० लाख रुपैयाँको लेनदेनमा प्रतिनिधि सभाका सांसद मेटमणि चौधरी र निर्माण व्यवसायी ठेकेदार धात बुढामगरले प्रहरीमा पुगेर सहमति गरेका छन्।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरी र ठेकेदार बुढामगर मंगलबार (असार १७) साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय दाङमा पुगेर सहमति गरेको एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए।

सहमतिमा भने उनीहरूले ‘कुनै पनि लेनदेन नभएको’ उल्लेख गरेका हुन्।

‘उहाँहरू आएर हाम्रो सहमति भयो र हाम्रो कुरा मिल्यो भन्नुभयो,’ एसपी तिमिल्सिनाले भने, ‘उहाँहरूले हाम्रो लेनदेन छैन र म त्यो मुद्दा अगाडि बढाउन चाहन्नँ भनेको हुँदा सहमति गरी जानु भएको हो।’

ठेकेदार बुढामगरले असार ४ गते हुलाकमार्फत कार्यालयमा जाहेरी पठाएका थिए। जाहेरी प्राप्त गरेपछि प्रहरीले सनाखत गर्नका लागि उनीसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। तर उनी प्रहरीको पनि फोन उठाएका थिएनन्।

त्यस्तै, असार ८ गते उनले अर्को पत्र हुलाकमार्फत लेख्दै जाहेरी फिर्ता गर्न चाहेको उल्लेख गरेका थिए।

ठेकेदार बुढामगरसँग यसबारे कसैले धम्क्याएको वा अप्ठेरो परेर सहमति गरेकोबारे पनि सोधेको एसपी तिमिल्सिनाले बताए।

बुढामगरले आफ्नो खाद्यान्नको व्यापार रहेको र आफूसँग पनि अरू साहुले पैसा मागेको हुँदा चेक मागेको प्रहरीसँग बताएका छन‍्।

‘मलाई साहुजीहरूले पैसा चाहियो भनेर सताउन थालेपछि देखाउनलाई मात्रै मैले चेक मागेको थिएँ,’ उनको भनाइ उदृत गर्दै एसपी तिमिल्सिनाले भने, ‘पछि साहुले पैसा मागेर तेरो म्याद भयो, चेक बाउन्स गर भनेर ताकेता गरेपछि बाउन्स गरी मुद्दा हालेको हुँ।’

यसअघि सांसद चौधरी मन्त्री रहेको समयमा उनीहरूबीचमा लेनदेन भएको स्रोतको दाबी छ। तर, अहिले उनीहरूबीच के सहमति भएको हो भन्ने खुलिसकेको छैन। प्रहरीले पनि आफूहरूलाई सहमतिमा के भयो भन्ने जानकारी नभएको बताएको छ।