भाँचिएको ६ महिनामा विनयी खोलामा नयाँ पुल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिनामा नयाँ पुल बनेको छ । २०८१  पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो ।

उक्त पुल बाँचिएपछि विनयी खोलाको नयाँ डाइभर्सनबाट सवारी सञ्चालन भइरहेका थिए ।  तर अब भने पुल निर्माण भएको हो  । नारायणघाट–बुटवल सडक आयोजनाको अनुसार २४५ मिटर पुल आजबाट सञ्चालनमा आएको हो ।   आयोजनाका अनुसार हिजो कालोपत्रे सकेर आजबाट पुल सञ्चालन भएको हो ।

पुल नहुँदा डाइभर्सनबाट सवारी सञ्चालन गर्नुभन्दा जोखिमयुक्त रहेको थियो । ६ असारमा  विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस समेत बगाएको थियो  ।

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको थियो ।  विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासि आएको बाढीले बस बगाउँदा ३८ यात्रुको रातभरी उद्धार गर्नुपरेको थियो ।

पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न दिएका थिएनन् ।