इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बताएअनुसार अरू दर्जनौँ बेपत्ता भएका छन् ।
एजेन्सीको सुराबाया कार्यालयका अनुसार दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका१२ जना सदस्य थिए । बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ ।
बिहीबार बिहान लाइफबोटमा चार जना यात्रु फेला परेका थिए । अन्य बाँचेकाहरूको खोजी जारी छ । समाचार एजेन्सी अन्ताराका अनुसार, आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयार राखिएको छ ।अधिकारीहरूले डुङ्गा किन डुब्यो भनेर अनुसन्धान सुरु गरेका छन् । डुङ्गा डुब्नुभन्दा केही समय अघि इन्जिन फेल भएको भनेर स्थानीय डुङ्गा सञ्चालकले सूचना दिएको थियो ।