हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैनः कृषिमन्त्री अधिकारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।

आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् । ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’मन्त्री अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्वीकार्दै उनले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए ।

असार र साउनमा पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको जिकिर गरे । मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न पनि उनले आग्रह गरे ।

मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने बताए । असार १५ गते (आज) राष्ट्रिय धान दिवस मनाइँदैछ ।