चार प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशभर मनसुनी वायुको प्रभाव छ।

शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

डोल्पाको जुफल विमानस्थलमा पछिल्लो तीन घन्टामा १९.८ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो १२ घन्टामा कास्कीको लुम्लेमा ८६.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै लमजुङको खुदी बजारमा ७७.२ मिलिमिटर वर्षा भएको छ। सिन्धुपाल्चोकको मेलम्चीमा ६२.२ मिलिमिटर, गोब्रेमा ५०.६ मिलिमिटर, काठमाडौंको बूढानीलकण्ठमा ४३ मिलिमिटर, पानीपोखरीमा ३५ मिलिमिटर, नुवाकोटको बिदुरमा ४९ मिलिमिटर, त्रिशूलीमा ४१.४ मिलिमिटर वर्षा भएको छ।

शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमार बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सबै प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू-भागका तथा मधेश प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा राति भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश र बागमती प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।