सांसद राईको व्यङ्ग्य- जसले दौरा सुरुवाल लगायो, उसैसँग पीएसओ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

। सत्तारुढ दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेकोप्रति आपत्ति जनाए ।

‘गृहमन्त्रीज्यूलाई मेरो एउटा निवेदन गर्नपर्‍यो । यो पीएसओ भनेको के हो ? मैले बुझिन । सबैसँग छ अहिले हेर्नुस् । सबैले पुलिस लिएर कुदेका छन् । चौकी खाली छ । के भएर यस्तो भएको हो ?,’ उनले भने ।

उनले दौरा सुरुवाल लगाउने सबैसँग पीएसओ रहेको भन्दै व्यङ्ग्य पनि व्यक्त गरे । पूर्व तथा निवर्तमान प्रहरीका आईजीपी र आईजीको घरमा समेत प्रहरीहरूलाई कामकाजमा राखिएको भन्दै उनले आपत्ति जनाए ।

‘सबै मान्छेसँग पीएसओ । जो दौरा सुरुवाल लगाएको छ, उसैसँग पीएसओ । यो के भएर यस्तो हुन्छ ? मैले बुझ्दै छु, हिजोका आईजीपी भएको, हिजो एआईजी भएको घरमा पनि राखिएको छ,’ उनले भने, ‘यसो गर्नु हुँदैन । यो लोकतन्त्रको खिलापमा छ । जनतालाई हामीले सुशासन दिने हो । जनताले देख्ने गरी काम गर्नुपर्‍यो ।’

नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो ।