पोखरा, – विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सुधार ल्याउने उद्देश्यका साथ लायन्स क्लब अफ पोखरा सिभिकले रूपा-७ स्थित सरस्वती आधारभूत विद्यालयलाई नवनिर्मित सुविधा सम्पन्न शौचालय हस्तान्तरण गरेको छ। नेपाल लायन्स फाउन्डेसन (एनएलएफ), डिस्ट्रिक्ट ३२५ आई, नेपालको आर्थिक सहयोगमा सम्पन्न यो परियोजनाले विद्यालयको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।
मंगलबार आयोजित एक विशेष समारोहमा शौचालय भवन विद्यालयलाई हस्तान्तरण गरियो। कार्यक्रमका प्रमुख अतिथि एन.एल.एफ. डिस्ट्रिक्ट कोअर्डिनेटर लायन प्रेम प्रसाद दाहाल हुनुहुन्थ्यो। रूपा-७ का वडाध्यक्ष कुष्ण सुवेदी ज्यू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ पोखरा सिभिकका संस्थापक अध्यक्ष लायन पवित्र राज तिवारी, पूर्व अध्यक्ष लायन यूवराज खनाल, क्लस्टर ४ का क्लस्टर प्रमुख लायन दिल बहादुर थापा, रिजन ८ का रिजन चेयर पर्सन लायन निरा कोइराला, जोन १६ का जोन चियर पर्सन लायन शुरेश न्यौपाने, विद्यालयकी प्रअ पूर्णिमा शाह, क्लबका प्रथम उपाध्यक्ष तथा इलेक्ट अध्यक्ष लायन मित्र बन्धु वराल, कार्यक्रम संयोजक लायन अर्जनु सुवेदी र कार्यक्रम संचालक क्लबका इलेक्ट कोषाध्यक्ष राम चन्द्र तिवारी लगायत लायन्सका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ पोखरा सिभिकका अध्यक्ष लायन विकास प्रसाद कडेल (वर्ष २०२४/२५) ले यस सामाजिक कार्य सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले एनएलएफ परियोजना अन्तर्गत यो कार्य सम्पन्न गर्न सहयोग पुर्याउनुहुने आदरणीय डिस्ट्रिक्ट गर्भनर लायन विनोद ढुङ्गाना (वर्ष २०२४/२५) र सम्पूर्ण डिस्ट्रिक्ट ३२५ आई परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
नवनिर्मित शौचालयले विद्यालयका विद्यार्थीहरूलाई स्वच्छ र स्वस्थ वातावरण उपलब्ध गराउनुका साथै उनीहरूको शैक्षिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। यो पहलले समुदायमा लायन्स क्लब अफ पोखरा सिभिकको सामाजिक उत्तरदायित्व र सक्रिय भूमिकालाई थप उजागर गरेको छ।