कोशी सम्पर्क कमिटीका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमाले कोशी काठमाडौँ सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,सरकार र समाजका विषयमा आधारभूत ज्ञान दिने उद्देश्यले प्रशिक्षण दिएको छ । प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई अलग अलग विषयहरूमा नियमित प्रशिक्षण सञ्चालन भइरहेको सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरेले जानकारी दिएका हुन् ।

घिमिरेका अनुसार प्रदेश तहका नेता कार्यकर्तालाई १६ वटा विषय र जिल्ला तहका कार्यकर्तालाई ४ वटा विषयमा प्रशिक्षण भइरहेको छ । यो प्रशिक्षण गत वर्ष देखि नियमित सञ्चालन भइरहेको छ । आगामी दुई हप्तामा पहिलो चरणको प्रशिक्षण समापन हुने घिमिरेले जानकारी दिए ।

च्यासलमा हरेक शनिबार करिब तीन घण्टा यो प्रशिक्षण सञ्चालन हुने गरेको छ । घिमिरेका अनुसार प्रदेश तहका पदाधिकारी तथा सदस्यलाई   उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मार्गदर्शन सिद्धान्त मार्क्सवाद र जनताको बहुदलीय जनवाद र ऐतिहासिक भौतिकवाद विषयमा  प्रशिक्षण दिएका छन् । स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले नेपालको भूराजनीति र कूटनीतिक सम्बन्ध बारेमा प्रशिक्षण दिनु भएको छ । यसैगरी पार्टी लेखा आयोगका अध्यक्ष डा.पुष्प कँडेलले मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी राजनीतिका विषयमा प्रशिक्षण दिएका छन् । यस्तै मार्गदर्शक सिद्धान्त लेनिनवाद र केपी ओली सरकारका काम भ्रम र यथार्थ विषयमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएका छन् । समाजको परिचय र विकास क्रमका बारेमा  प्रा.डा. रमेश भट्टराई  र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र र सकारका कामका विषयमा प्रशिक्षण दिएको घिमिरेले जानकारी दिए। यसै गरी प्रचारात्मक कामको महत्त्व र सूचना प्रविधिका विषयमा स्थायी समितिका सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख  राजेन्द्र गौतमले प्रशिक्षण दिएका छन् । प्रदेश सम्पर्क मञ्च अन्तरगतका १४ वटा जिल्लाका पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रशिक्षण जारी रहेको छ । जसमा मार्क्सवाद लेनिनवाद जनताको बहुदलीय जनवादका विषयमा पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले प्रशिक्षण दिएका छन् ।

केपी ओली सरकारले गरेका काम भ्रम र यथार्थका बारेमा सांसद ईश्वरी रिजालले प्रशिक्षण दिएका छन् । यसै गरी  सम्पर्क मञ्च विगत वर्तमान यसका निर्देशिका बारेमा केन्द्रीय कमिटी सदस्य  नरेन्द्र श्रेष्ठ र निर्वाचन आयोगका सदस्य कृष्ण आङ्दम्बेले प्रशिक्षण दिएका छन्  ।

आजको प्रशिक्षणमा शुभकामना दिन पुगेका पार्टीका स्थायी समिति सदस्य तथा सम्पर्क समन्वय कमिटीका इन्चार्ज  लालबाबु पण्डितले कोशी प्रदेश सम्पर्क कमिटीले नियमित पार्टी स्कुल सञ्चालन गरेर अनुकरणीय काम गरेको बताए । उनले पार्टीका सबै तहका कार्यकर्तालाई राजनीतिक रूपमा प्रशिक्षित गर्नु जरुरी रहेको तर विविध कारणले छुटिरहेकाहरूलाई सम्पर्क मञ्च मार्फत विचारको प्रशिक्षण सञ्चालन गरेकोमा धन्यवाद दिएका छन् ।