यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको सामाजिक एकता, सांस्कृतिक सम्पदा र भूमि प्रतिको श्रद्धा पनि देखिने घोराही उपमहानगरपालिका वडा नम्बर १४ का स्थानीय जुनु मगरले बताए । यो पर्व आफ्नो भाषा, संस्कृति र एकता सम्झाउने माध्यम रहेको उनको भनाइ छ ।
भूमे पर्व केवल नाचगानको उत्सव होइन । मगर समुदायको संस्कृति, इतिहास र भविष्यसँग गाँसिएको भावनाको उत्सव पनि हो । मगर समुदायले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रूपमा लिन्छन् । भूमि बिना कुनै जीवको अस्तित्वको परिकल्पना गर्न नसकिने र भूमि नै जीवन दाता भएको मान्यता उनीहरूको छ । मगर समुदायले भूमिलाई देवताका रूपमा मान्दै आएका छन् । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् ।यो पर्वलाई नयाँ कामको सुरुआत गर्ने दिनका रूपमा पनि लिइन्छ । सामूहिक योजना, भविष्यको सोच र सामाजिक सुदृढीकरणको मार्ग यही पर्वमा खोजिन्छ । तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढा मगरले मगरहरूको मुख्य पर्व भएको हुँदा आफूहरूले सबैलाई भेला गरेर दाङमा महोत्सवका रूपमा भूमे पर्व मनाउँदै आएको बताए ।दाङको भूमे पर्व, अब स्थानीयस्तरबाट राष्ट्रियस्तरमा अग्रसर हुँदै छ । यस पर्वमार्फत मगर समुदायको पहिचान र परम्परा जोगाउने मात्र होइन, सामाजिक सद्भाव र सहकार्यका उदाहरण प्रस्तुत हुन थालेका छन् ।