पोखरा, पहार ट्रस्ट नेपालले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका–८, स्थित श्रीराम आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता ट्रस्टका अध्यक्ष बिजुलीबहादुर गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ८ का वडाध्यक्ष श्री रुद्रनाथ बरालको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा संस्थापक अध्यक्ष चन्द्रबहादुर गुरुङ, वडा सदस्य गोविन्द बराल , हिराकाजी श्रेष्ठ र इन्जिनियर गणेश बरालको समेत उपस्थिति थियो।अतिथि विद्यालयका प्रधानाध्यापक र ट्रस्टका प्रतिनिधिहरूको उपस्थित थिए।
ट्रस्टका अध्यक्ष गुरुङले श्रीराम आधारभूत विद्यालयमा वडाध्यक्ष बरालको सिफारिसमा सामग्री वितरण गरिएको स्पष्ट पार्नुभयो। उहाँले पहार ट्रस्ट नेपालले विगत १२ वर्षदेखि शिक्षा, स्वास्थ्य तथा ग्रामीण पूर्वाधार क्षेत्रमा निरन्तर रूपमा योगदान दिँदै आएको जानकारी गराउनुभयो।
उहाँका अनुसार, कास्की जिल्लामा, पोखरा महानगपालिकाका अन्य वडाहरूमा र नेपालका धेरै जिल्लाहरूमा रहेका विद्यालयहरूमा समेत ट्रस्टले शैक्षिक सामग्री वितरण, भवन निर्माण, लगायतका क्षेत्रमा महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष बरालले शिक्षा क्षेत्रमा पहार ट्रस्टले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। साथै, वडा कार्यालयले विद्यालय भवन निर्माणमा समेत सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग जारी राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेल सामग्री वितरण गरिएको थियो। स्थानीय शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता रहेको कार्यक्रममा ट्रस्टले विगतदेखि विभिन्न दुर्गम क्षेत्रका विद्यालयमा पु¥याउँदै आएको योगदानबारे जानकारी गराइएको थियो।
स्थानीयस्तरमा गरिएको यस्ता सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रिया थप सहज हुने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ।