महिला स्वरोजगारमा टेवा दिन पोखरा–८ मा मखमली बुट्टा तालिम सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा महानगरपालिका वडा नं. ८ मा महिलाहरूको सीप अभिवृद्धि तथा स्वरोजगार प्रवर्द्धनका लागि १० दिने “मखमलीमा बुट्टा भर्ने तालिम” सुरु गरिएको छ। वडास्तरीय कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको तालिम वडा कार्यालयको सभाहलमा प्रारम्भ भएको हो।

तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रूद्रनाथ बरालले अध्यक्षता गर्नुभयो। वडा सदस्य गोविन्द बरालहिराकाजी श्रेष्ठले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभयो भने वडा सदस्य लक्ष्मी वि.क.ले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सञ्चालन वडा कार्यालयकी कर्मचारी प्रतिभा पराजुलीले गर्नुभएको थियो।

१० दिनसम्म सञ्चालन हुने तालिममा १८ जना महिला सहभागी छन्। तालिमको प्रशिक्षण पुस्पा मरासैनीले प्रदान गर्दै हुनुहुन्छ। तालिममा सहभागी महिलाहरूले मखमली कपडामा आकर्षक बुट्टा भर्ने सीप सिक्नेछन्, जसलाई उनीहरूले घरमै बसेर व्यवसायिक रूपमा प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ।

वडाध्यक्ष बरालले उद्घाटन कार्यक्रममा भन्नुभयो, “हाम्रो वडामा महिलाहरूको सीप विकास गर्दै आत्मनिर्भरता र आयआर्जनको बाटो खोल्न यस्तो तालिमले ठूलो भूमिका खेल्नेछ। वडाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउनेछ।”

सहभागी रमा बरालले यस्ता तालिमले आफूहरूलाई आत्मनिर्भर बन्न प्रेरणा मिलेको बताउँदै वडालाई धन्यवाद दिएका छन्।