पोखरा, – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र कटाक्ष गर्दै “उरन्ठेउलो केटो” को संज्ञा दिएका छन्। उनले नेपालमा राजतन्त्र फर्काउने सपना देख्नु “वर्षा यामको भ्यागुताको ट्यारट्यार” जस्तो भन्दै यस्ता भ्रम फैलाउन नदिन चेतावनी दिएका छन्।
पोखरामा शुक्रबार सम्पन्न युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले एमालेको अग्रगामी भूमिका भएकै कारण पार्टी र नेतृत्वमाथि निरन्तर प्रहार भइरहेको दाबी गरे। “आन्तरिक र बाह्य शक्तिहरू एमालेविरुद्ध एकजुट भएर हमला गरिरहेका छन्,” उनले भने, “तर कुन शक्ति हुन् भन्ने म खुलाएर भन्न चाहन्न।”
ओलीले एमालेको नेतृत्वमा देशले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै, विगतका योगदानलाई विस्मृत गराई जनतालाई भड्काउने प्रयास भइरहेको बताए। “हाम्रो पार्टीले गरेको विकास निर्माणलाई ढाकछोप गरेर अनुचित आरोप लगाइँदैछ,” उनले भने।
आफ्नो अघिल्लो कार्यकालको स्मरण गर्दै प्रधानमन्त्री ओलीले देशभर ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरिएको र केही निर्माण सम्पन्न भइसकेको जानकारी गराए। तर, आफू सत्ताबाट बाहिरिएपछि ती योजनाहरू अलपत्र परेको आरोप पनि लगाए।