पोखरा १८ वैशाख – सरकारले रोजगारीका अवसर र जनशक्तिबीचको दूरी घटाउने उद्देश्यले नयाँ डिजिटल पोर्टल shramsansar.gov.np सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत यस पोर्टलको सुरुवातको जानकारी दिँदै यसले रोजगारी नपाएको गुनासो गर्नेहरू र कामदार नपाएको गुनासो गर्नेहरू दुबैको समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन्।
यस पोर्टलमार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूबीच सीधा सम्पर्क स्थापित हुनेछ। प्रविधिको माध्यमबाट श्रमिक र नियोक्ताबीचको अन्तर घटाउने प्रयासस्वरूप तयार गरिएको यो प्रणालीले देशभर छरिएर रहेका दक्ष जनशक्ति र तिनका आवश्यकता भएका उद्योग/संस्थाबीचको समन्वयलाई सहज बनाउनेछ।
सरकारले shramsansar.gov.np लाई चाँडै नै नागरिक एपसँग पनि जोड्ने तयारी गरिरहेको जानकारी दिइएको छ। यसले गर्दा सेवाग्राहीले एकै एपबाट रोजगारी सम्बन्धी सूचना, आवेदन र समन्वय प्रक्रिया पूरा गर्न सक्नेछन्।
यो कार्यक्रमले देशभित्र रोजगारी सिर्जना गर्न, जनशक्तिको उपयोगमा पारदर्शिता ल्याउन र काम खोजीको प्रक्रियामा सरलता ल्याउने अपेक्षा गरिएको छ। विगतमा सामाजिक सञ्जाल, विज्ञापन वा निजी प्लेटफर्महरूमा भर पर्नुपर्ने बाध्यता अब हट्ने विश्वास लिइएको छ।
प्रधानमन्त्री ओलीले राइड सेयरिङ एपहरूजस्तै श्रम क्षेत्रमा पनि प्रविधिको प्रयोगले क्रान्तिकारी परिवर्तन ल्याउने र जनशक्तिलाई लक्षित सेवामा पहुँच पुर्याउने उल्लेख गरेका छन्।
सरकारको यो कदमलाई श्रमिक र रोजगारदाता दुवै पक्षबाट स्वागत गरिने अपेक्षा गरिएको छ।