पोखरा, वैशाख १८ — पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय श्रमिक दिवस केवल बिदाको रूपमा नलिएर यसलाई श्रमको सम्मान, श्रमिकको अधिकार सुनिश्चितता र समतामूलक समाज निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभएको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८२ को अवसरमा शुभकामना दिँदै मेयर आचार्यले भन्नुभयो, “आजको दिन केवल बिदा होइन—यो श्रमिकहरूको योगदानलाई स्मरण गर्ने, उनीहरूको अधिकार सुनिश्चित गर्ने र श्रमको सम्मानमार्फत न्यायपूर्ण समाज निर्माणतर्फ अग्रसर हुने दिन हो।”
उहाँले पोखरा महानगरपालिका श्रमिकमैत्री नीति निर्माण र कार्यान्वयनमा लागिपरेको जानकारी दिँदै न्यूनतम पारिश्रमिकको सुनिश्चितता, सामाजिक सुरक्षा योजनाको विस्तार र असंगठित क्षेत्रका श्रमिकहरूलाई संस्थागत संरचनामा ल्याउने विषयमा महानगर गम्भीर रहेको उल्लेख गर्नुभयो।
मेयर आचार्यले निजी क्षेत्र र संघसंस्थाहरूलाई पनि श्रमिक अधिकारको संरक्षण र समावेशी वातावरण निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो। उहाँले श्रमिक विना विकास सम्भव छैन भन्ने तथ्यलाई आत्मसात् गर्दै श्रमिकहरूको भूमिका सदैव सम्मानित गरिनु पर्नेमा जोड दिनुभयो।
श्रमिक दिवसको अवसरमा मेयर आचार्यले सबै श्रमिकहरूलाई शुभकामना दिँदै, न्याय, सम्मान र अवसरको आधारमा समाज निर्माणमा सधैं एकजुट रहन सबैलाई आग्रह गर्नुभएको छ।