पोखरा ।नेपाल शिक्षक महासंघले आइतबार काठमाडौंको बानेश्वरमा प्रहरीसँग भएको झडपमा परेर ६२ जना शिक्षक- कर्मचारी घाइते भएको जानकारी दिएको छ । त्यसमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको महासंघले जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् ।
तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ। हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ।’
यसैबीच नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलन जारी रहने बताएका छन् । २०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौंका सडकमा प्रदर्शन गरिरहेको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ ।