पोखरा। नेकपा (एमाले) पोखरा महानगर कमिटीको आयोजनामा विजयादशमी, शुभदीपावली तथा नेपाल संवत् लगायतका चाडपर्वहरूको पावन अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरिने भएको छ।
कमिटीका अध्यक्ष जीवन आचार्यका अनुसार पार्टी कार्यालय प्राङ्गण, शान्तिबनमा आउँदो २०८३ आश्विन ३१ गते बिहान ७:३० बजे कार्यक्रम सञ्चालन हुनेछ। महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले बडादसैँ, तिहार तथा नेपाल संवत्ले सबै नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आपसी भ्रातृत्वको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्दै उक्त शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थितिका लागि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणमा हार्दिक निमन्त्रणा एवं आह्वान गर्नुभएको छ।
चाडपर्वका माध्यमबाट सामाजिक सद्भाव, एकता र आपसी भाइचारा बलियो बनाउने उद्देश्यले हरेक वर्षझैँ यस वर्ष पनि चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ।