जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शीतभण्डार (कोल स्टोर) भवनको शिलान्यास गरिएको छ।
भारतीय दूतावास काठमाडौँका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा उक्त शीतभण्डार भवनको शिलान्यास गरेका हुन्
उक्त शीतभण्डार भवन भारत सरकारको करिब ४ करोड ४१ लाख नेपाली रुपैयाँ वित्तीय सहायतामा निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास आयोजना (एचआइसीडीपी) अन्तर्गतको यो परियोजना लालीगुराँस नगरपालिकामार्फत कार्यान्वयन हुनेछ। यो तेह्रथुम जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको दोस्रो उच्च प्रभाव सामुदायिक विकास आयोजना हो।
कार्यक्रममा लालीगुराँस नगरपालिकाका प्रमुख तथा अन्य सरोकारवालाहरूले भारत सरकारले पुर्याउँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन्। यो नयाँ संरचनाले लालीगुराँस नगरपालिकामा दिगो र दीर्घकालीन कृषि व्यावसायिक मोडलको विकासमा मद्दत पुर्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
नजिकका छिमेकीका रूपमा नेपाल र भारतबिच बहुक्षेत्रीय सहयोग कायम रहँदै आएको छ।