युरोपेली सङ्घ (ईयू)का अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताउनुभएको छ । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध गराउने घोषणा गरेका थिए। फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु भएपछि बढेको इन्धनको मूल्य नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको हो।
थाइल्याण्डको बैंककमा जारी अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकको वार्षिक बैठकका क्रममा एएफपीसँग कुरा गर्दै डोम्ब्रोभ्स्किसले रुसी डिजेल निर्यातको सम्भावित प्रभावप्रति शङ्का व्यक्त गरे। उनका अनुसार प्रस्तावित निर्यातको परिमाण विश्व अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्ने स्तरको छैन । साथै, रुसले आवश्यक परिमाणमा डिजेल आपूर्ति गर्न सक्ने र त्यसले अमेरिकी गुणस्तर मापदण्ड पूरा गर्ने विषयमा पनि प्रश्न रहेको उनले बताए।
डोम्ब्रोभ्स्किसले युक्रेनलाई आर्थिक सहयोग बढाउन ईयूले अन्तरराष्ट्रिय साझेदारसँग छलफल गर्ने जानकारी दिए। यसैबिच उनले ईयू र चीनबीचको व्यापार असन्तुलनप्रति चिन्ता व्यक्त गरे। गत वर्ष चीनसँगको ईयूको व्यापार घाटा करिब ३६० अर्ब युरो पुगेको उल्लेख गर्दै उनले व्यापार सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने बताए। व्यापार तनाव कम गर्ने सहमतिअन्तर्गत सन् २०२७ देखि चीनबाट आयात हुने हाइब्रिड सवारीसाधनको वार्षिक सङ्ख्या तीन लाख ५० हजारमा सीमित गरिने जनाइएको छ।
फ्रान्समा सरकारी ऋणपत्रको प्रतिफल बढिरहेको विषयमा पनि उनले चिन्ता व्यक्त गरे। बजेटसम्बन्धी अनिश्चितता हटाउन फ्रान्सले प्रस्तावित बजेट पारित गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ।
डोम्ब्रोभ्स्किसका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीतिको दबाब लामो समयसम्म कायम रहन सक्छ । त्यसैले युरोपेली आयोगले सन् २०२७का लागि मुद्रास्फीति पूर्वानुमान बढाउने सम्भावना रहेको उनले बताए।