अमेरिकी सैन्य शक्तिबाट लाभ लिने प्रस्तावित राजदूतको कार्ययोजनामा सांसद पुनको आपत्ति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकी सैन्य शक्तिबाट लाभ लिने प्रस्तावित राजदूतको कार्ययोजनामा सांसद पुनको आपत्तिअमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापाको संसदीय सुनुवाइ प्रक्रियामा सांसदहरूले उनको कार्ययोजना, कूटनीतिक प्राथमिकता र डायस्पोराप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएका छन्।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रस्तावित राजदूतको अनुभवको प्रशंसा गर्दै अमेरिका जस्तो विश्व शक्तिको सामना गर्दा नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय हितमा स्पष्टता हुनुपर्नेमा जोड दिएका हुन्

बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्याल र नेपाल कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित राजदूत थापाको कार्ययोजनाका विभिन्न विषयमा स्पष्टीकरण माग गरे।

सांसद अर्यालले अमेरिकामा रहेका नेपाली डायस्पोराले भोग्दै आएका दूतावाससम्बन्धी समस्या, उनीहरूको सेवा–सुविधा र सांस्कृतिक अपनत्वका विषयमा ठोस योजना प्रस्तुत गर्न आग्रह गरिन् । राजदूतको कार्यकालमा नेपालले प्राप्त गर्ने ठोस नतिजा र एकवर्षीय कार्ययोजनाको खाका स्पष्ट नभएको भन्दै उनले जिज्ञासा राखिन्।

सांसद वर्षमान पुनले प्रस्तावित राजदूत थापाको उच्च शैक्षिक र व्यावसायिक पृष्ठभूमिको प्रशंसा गरे पनि कार्ययोजनामा उल्लिखित कतिपय विषयमा असहमति जनाए। थापाले कार्ययोजनामा राखेको ‘अमेरिकी सैन्य शक्तिबाट लाभ लिने’ र ‘सैन्य तथा सुरक्षा सहयोग सुदृढ गर्ने’ प्रस्तावमाथि पुनले आपत्ति जनाएका हुन् । नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार सैन्य सहयोग प्राथमिकतामा पर्नुपर्ने हो वा होइन भन्ने विषयमा उनले प्रश्न गरे।

त्यसैगरी दूतावासका कर्मचारी र तिनका परिवारले अमेरिकी रीतिरिवाज पूर्ण रूपमा पालना गर्ने भनी कार्ययोजनामा उल्लेख गरिएको विषय व्यावहारिक नभएको भन्दै पुनले यसमा स्पष्ट हुन आग्रह गरे । अमेरिका नेपालका लागि आर्थिक सहायता र लगानी भित्र्याउने दृष्टिकोणले महत्त्वपूर्ण भएकाले सोहीअनुसार कूटनीतिक सक्रियता बढाउन उनले सुझाव दिए।