ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको गए राति निधन भएको छ । ९४ वर्षको उमेरमा अधिकारीको काठमाडौँ फैकास्थित आफ्नै निवासमा निधन भएको हो।
विशेषगरी पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा सरिक भएर उनी जेल समेत परेका थिए। ओखलढुङ्गाका कांग्रेसका नेताहरू बलबहादुर राई, गोपाल राई लगायत उनी सहित १५ नेताहरूलाई तत्कालीन पञ्चायती शासकले पक्राउ गरी एउटै डोरीले बाँधेर ओखलढुङ्गाबाट पैदल हिँडाएर भोजपुर जेल पुर्याएको थियो ।
उनले यही क्रममा विभिन्न ठाउँमा जेल समेत बिताएका थिए । ओखलढुङ्गाको च्यानाममा जन्मेका उनले शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएका थिए। उनले स्थापना गरेको प्रबुद्ध माविमा अहिले उच्च शिक्षा सम्मको अध्ययन हुन्छ । उनले आफ्नै निजी खर्चमा सो विद्यालय सुरु गरेका थिए ।
२०२९ सालमा जिल्ला पञ्चायत उपसभापति भएका अधिकारी २०४३ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएका थिए । शिक्षा स्वास्थ्य, लगायत विभिन्न क्षेत्रमा उनले ठुलो योगदान दिएका छन् ।
उनको आइतबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। अधिकारीलाई उनका भतिजा गोविन्द अधिकारी (टङ्क) ले दागबत्ती दिएका थिए । अधिकारीका दुई श्रीमती छन् ।