राष्ट्रिय जेन्जी नागरिक अभियानले गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रिय विपत्ति जोखिम तथा न्युनिकरणलाई आइतबार एक पत्र बुझाउँदै अभियानले बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको तथा कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै उद्धारमा ढिलाइ नगर्न आग्रह गरेको हो।
अभियानले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोली परिचालन गर्न, आवश्यकताअनुसार हेलिकप्टरबाट खोजी तथा उद्धार गर्न, घाइतेको उपचार र प्रभावितलाई राहत उपलब्ध गराउन माग गरेको छ।
भोटेकोसीमा भएको उद्धार तथा राहतमा ढिलाइबाट पाठ सिक्दै बूढीगण्डकीमा त्यस्तो कमजोरी दोहोरिन नदिन अभियानले सरकारको ध्यानाकर्षण गराएको छ। नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने भन्दै अभियानले प्रभावितको खोजी, जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण र प्रभावकारी सूचना प्रवाहमा जोड दिएको छ।