पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सो राजमार्ग अन्तर्गत गजुरी नजिकै काठमाडौँतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडक विभागले शनिबार साँझ जारी गरेको सूचना अनुसार अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको र सडक भोलि बेलुकादेखि मात्र दुईतर्फी खुल्ने जनाइएको छ ।
विभागले आज राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने तयारी भइरहेको र भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको कार्य सुरु गरिने जानकारी दिएको छ । साथै भोलि साँझ ६ बजेसम्म मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा सडक विस्तारको कार्य सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको समेत विभागले जनाएको छ ।
विभागले सडक पुनः सञ्चालन नभएसम्म यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गरी सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।