जाइकाको अनुदानमा निर्मित विराटनगर खानेपानी परियोजना अन्तिम चरणमा, मेयर कोइरालाद्वारा निरीक्षण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जाइकाको अनुदानमा निर्मित विराटनगर खानेपानी परियोजना अन्तिम चरणमा, मेयर कोइरालाद्वारा निरीक्षण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी परियोजना निर्माण सम्पन्न भई वितरणको अन्तिम तयारीमा पुगेको छ।

निर्माण कार्य सकिएसँगै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

जाइकाले परियोजना स्वीकृत गरेपछि जग्गा, सडक र विद्युतलगायतका समस्या समाधान गर्न मेयर कोइरालाले सहजीकरण गरेका थिए। जसका कारण तोकिएको समय सन् २०२६ अक्टोबरभन्दा अगावै दुई वर्षभित्रै काम सम्पन्न भएको हो।

निरीक्षणपछि प्रतिक्रिया दिँदै मेयर कोइरालाले नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा हुने क्रममा रहेको भन्दै खुसी व्यक्त गरे।मेयर कोइरालाले देवकोटा चोकस्थित खानेपानी संस्थान परिसरमा निर्मित संरचनाको निरीक्षण गर्दा प्राविधिकहरूले पानी उत्पादन र फिल्टर प्रक्रियाबारे जानकारी गराएका थिए।

मुख्य निर्माण कार्य सकिइसकेकाले अहिले विद्युत् जडानलगायतका केही प्राविधिक काम मात्र बाँकी रहेको नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले बताए। यी बाँकी काम पनि तत्काल सम्पन्न गरी दसैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ। जाइकाले यही बिहीबार खानेपानी संस्थानलाई औपचारिक रूपमा परियोजना हस्तान्तरण गर्दै छ।

परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमतामा उल्लेख्य वृद्धि हुनेछ। हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणालीबाट दैनिक १ करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिनेछ। परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गर्नुका साथै पुराना संरचनाको सुधार, नयाँ ओभरहेड ट्याङ्की निर्माण, पाइपलाइन विस्तार र विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ।

अब विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण हुनेछ। कोचाखाल पश्चिममा नयाँ ओभरहेड ट्याङ्की निर्माण गरिएको छ। पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तार भएसँगै उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने अपेक्षा गरिएको छ। हाल संस्थानका करिब १३ हजार २ सय ग्राहक रहेका छन्।

यस परियोजनाले थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउनुका साथै तीव्र रूपमा बढिरहेको जनसङ्ख्याको माग धान्न सहज पुर्‍याउनेछ। विगतमा अशुद्ध खानेपानीकै कारण विराटनगरमा जन्डिस फैलिएर १४ जनाको मृत्यु भएको थियो, जसलाई ध्यानमा राख्दै ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ बनाउने महानगरको योजनाले अब पूर्णता पाउने विश्वास लिइएको छ।