पोखरा, २३ असोज ।पोखरा महानगरपालिका वडा नं. २८ माझठानास्थित ओख्लेको भिरमा शुक्रबार बिहान भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनापछि पोखरा महानगरपालिकाका (मेयर) धनराज आचार्यले घाइतेहरूका अभिभावकलाई उपचार खर्चको चिन्ता नलिन आग्रह गरेका छन्।
दुर्घटनाको खबर लगत्तै भावुक बन्दै मेयर आचार्यले घाइते विद्यार्थी तथा अभिभावकहरूको उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने घोषणा गरेका हुन्। उनले उपचारको विषयमा कुनै पनि अन्योल वा द्विविधा नराख्न पीडित परिवारलाई अनुरोध गर्दै अस्पताल प्रशासनलाई नि:शुल्क र सहज उपचारको व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी दिए।
“ओख्लेको भिरमा भएको दुर्घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। घाइते सम्पूर्ण विद्यार्थी र अभिभावकहरूको उपचार खर्च महानगरपालिकाले व्यहोर्नेछ,” मेयर आचार्यले भने, “अभिभावकज्यूहरूले उपचार खर्चका विषयमा कुनै चिन्ता लिनु पर्दैन।”
शुक्रबार बिहान करिब ७:४० बजे माझठाना सौरेबाट कालिकातर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटना हुँदा ४ जना विद्यार्थी र १ जना अभिभावक गरी ५ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिने उपाय पहिल्याउन महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। उक्त समितिलाई ५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।